काठमाडौं आइपुग्यो मेलम्चीको पानी, सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री ओलीले गरे काठमाडौंमा स्वागत
वि.सं.२०७७ फागुन २२ शनिवार १९:४७
1.9K
shares
काठमाडौं: बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको खानेपानी पहिलो पटक आज काठमाडौंको सुन्दरीजलमा खसेको छ ।
गत फागुन १० गते सुरुङमा हालेको पानी काठमाडौंको सुन्दरीजलमा खसेको हो । सुन्दरीजलको ढोका खोलेर प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौंमा स्वागत गर्दै वाग्मती नदीमा बगाएका छन् ।
मेलम्ची खाने पानी आयोजनाको सफल परीक्षणपछि अब तीन महिना नकटाइ काठमाडौंबासीलाई मेलम्चीको खाने पानी उपलब्ध गराउने योजना सरकारको छ ।
यसअघि गत असार २९ गते पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो जुन सफल भएन । हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर पानी बाहिर निस्कियो । सो दुर्घटनामा आयोजनाका एक इन्जिनीयर र चालक बेपत्ता भएका थिए ।
त्यसपछि चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण गरिएको हो ।
काठमाडौंमा खानेपानी वितरणको जिम्मा लिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी वितरणको लागि सबै तयारी पूरा भएको जनाएको छ ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । खानेपानी तथा सरसफाइ मन्त्रालयले वाग्मतीमा पानीको सतह बढ्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ ।
वि.सं.२०७७ फागुन २२ शनिवार १९:४७



















