हुम्लाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थाल्यो
वि.सं.२०७७ कात्तिक २४ सोमवार १३:४५
2K
shares
काठमाडौं: हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो ।
रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ । बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ हुन थालेको छ । दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको हो । यहाँको तापक्रम माइनसमा झरेकाले खानेपानीका धारामै बरफ जमेको छ ।
हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अत्यधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५ डिग्रीभन्दा तल झर्छ । तापक्रम माइनसमा झरेसँगै चिसो बढेकाले पानीका धारामै बरफ जम्न थालेको सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल हुम्लाले जनाएको छ ।
हिल्सामा होटल व्यवसायी कोही नभए पनि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी रहँदै आएको छ। चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मङ्सिर पहिलो सातातिर सिमकोट सर्ने तयारी भए पनि सशस्त्र प्रहरी हिउँदको समयमा पनि हिल्सामै रहने छ ।
वि.सं.२०७७ कात्तिक २४ सोमवार १३:४५




















