विभिन्न स्थानमा हातहतियार सहित पक्राउ
वि.सं.२०७७ असोज २० मंगलवार १५:३७
2.5K
shares
काठमाडौं: रुकुम (पूर्व), सिस्ने गाउँपालिका-६ रानीकोट बस्ने ६८ वर्षीय भरत शाहीलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २१ वर्षीय राजकुमार हरिजन र मायादेवी-४ बस्ने ३९ वर्षीय सदानन्द सहानीलाई १ थान कटुवा पेस्तोल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया किशोरीले बिबाह गर्दिन भने पश्चात राजकुमारले किशोरीको दाइलाई पेस्तोल ताकेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले राजकुमारलाई उनकै घरबाट पक्राउ गरेको हो । खोजी गर्ने क्रममा सदानन्दको पसलभित्र लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी सदानन्दलाई समेत पक्राउ गरेको हो ।
पाल्पा, माथागढी गाउँपालिका-५ सुर्काबासबाट १ थान भरुवा बन्दुक सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी माथाबाट खटिएको प्रहरीलाई देख्नासाथ शंकास्पद रुपमा हिँडिरहेका अपरिचित व्यक्तिहरुले उक्त हतियार झाडीमा फाली फरार भए पश्चात उक्त हतियार फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:३७



















