एनआईसी एशिया बैंकमा अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने
वि.सं.२०७७ असोज १६ शुक्रवार १३:५९
1.5K
shares
काठमाडौं: एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने ‘अनलाइन कर्जा आवेदन प्रणाली’ को व्यवस्था गरेको छ । बैंकले कोरोना भाइरस महामारीकाबीच सामाजिक दुरी कायम राख्नुपर्ने आजको आवश्यकतालाई महसुस गर्दै ग्राहकमैत्री एवं सुरक्षित रुपले https://loanapplication.nicasiabank.com मार्फत अनलाइन कर्जा आवेदन प्रणालीको सुरुवात गरेको हो ।
बैंकले आफ्नो ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अनुरुप कर्जा आवेदन लिने र प्रक्रियामा लैजाने विद्यमान व्यवस्थालाई विस्थापित गर्नुका साथै बैंकसम्म पुगेर कर्जा आवेदनका निमित्त भौतिक फारम भर्नुपर्ने झन्झटबाट ग्राहक महानुभावहरूले मुक्ति पाउने बैंकले विश्वास लिएको छ ।
यसमार्फत ग्राहकले जुनसुकै स्थानबाट जुनसुकै समयमा आफुले इच्छाएको कर्जाको आवेदन दिन सक्नेछन् । ग्राहक महानुभावहरूले लिन सक्ने कर्जाको सीमा तथा आयस्रोत अनुसार कर्जा लिन सक्ने क्षमता निक्र्यौल गर्न सकिने व्यवस्था गरिएको छ भने कर्जा लिनका लागि योग्य भए नभएको देखाउनेछ र योग्य भएपश्चात् सम्पूर्ण विवरण अनलाइनमार्फत भरेर ग्राहक महानुभावहरूले सम्पूर्ण कागजात सोहीमार्फत अपलोड गर्न सक्ने व्यवस्था गरिएको छ ।
यसपछि ग्राहक महानुभावहरूले सम्पूर्ण आवश्यक कागजात बुझाएको ४८ घण्टाभित्र आवेदकलाई बैंकले कर्जाको निर्णय दिने व्यवस्था गरेको छ । साथै आवेदकको कर्जा स्वीकृतिको विभिन्न अवस्था (Status) बारेमा समेत यस बैंकले एसएमएस (SMS) मार्फत जानकारी गराउँदै आएको छ र ग्राहक महानुभावहरूले बैंकको वेबसाइटमा गई Loan Status समेत आफै त्चबअप गर्न सक्नुहुनेछ ।
बैंकको कुनै पनि कर्जा सम्बन्धी जानकारी लिनको लागि LOAN टाइप गरी ३४४८८ मा एसएमएस (SMS) वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस्डकल गरी वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने बैंकले जनाएको छ ।
साथै ग्राहक महानुभावहरूमा पर्न सक्ने असुविधालाई मध्यनजर गर्दै वहाँहरूको कर्जासम्बन्धी गुनासो एवं जिज्ञासा बुझ्ने उद्देश्यअनुरुप बैंकले स्थापना गरेको ‘कर्जा सहायता केन्द्र’ मा ग्राहक महानुभावहरूले पहिलो पटक सम्पर्क गरेपछि बैंकको प्रतिनिधिले तीन घण्टाभित्र सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा तथा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैंकले जनाएको छ ।
वि.सं.२०७७ असोज १६ शुक्रवार १३:५९




















