शर्त सहित मंगलबारदेखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुँदै
वि.सं.२०७७ भदौ १४ आइतवार २२:१९
1.5K
shares
काठमाडौं: गत चैतदेखि रोकिएको नियमित अन्तर्राष्ट्रिय उडान मंगलबार शुरु हुँदैछ ।
अमेरिका, युरोप, यूएई, मलेसिया, कतार, चीन, अस्ट्रेलिया र थाइल्याण्डबाट नेपाली नागरिक, नेपालस्थित कूटनीतिक नियोगमा कार्यरत कूटनीतिज्ञ तथा कर्मचारी, नेपालमा कार्यरत राष्ट्रसंघीय कर्मचारी, आईएनजीओ र एनजीओका कर्मचारीहरु मात्र नियमित उडान मार्फत नेपाल आउन पाउने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।
मन्त्री भट्टराईले पर्यटक तथा नेपाली राहदानी नभएका नेपालीहरु भने तत्कालन नेपाल आउन नपाउने बताएका छन् । यसरी नियमित उडान माफर्त नेपाल आउनेहरुले केही शर्त भने पुरा गर्नुपर्ने हुन्छ ।
सरकारले सिमित रुपमा मात्र अन्तर्राष्ट्रिय नियमित उडान गर्न लागेको हो । मन्त्री भट्टराईले दैनिक ५–६ सय जना मात्र नेपाल आउन पाउने गरी उडान हुने बताए । कोरोनाको पीसीआर परीक्षण सहज भएका मुलुकहरुबाट आउनेहरुले कोरोना परीक्षण गराएर आउनुपर्ने हुन्छ ।
कोरोनाको पीसीआर परीक्षणमा शतप्रतिशत नेगेटिभ मात्र बोकेर आएको विमानका यात्रुहरुले होम क्वारेन्टिन बस्न पाउने मन्त्री भट्टराईले बताए । तर, कोरोना परीक्षण नगरेर मिश्रित यात्रु आएको विमानका सबै यात्रुले भने काठमाडौंमा कम्तिमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाई छ ।
यसरी होटलमा बस्दा लाग्ने खर्च भने यात्रु स्वयमले व्यहोनुपर्ने छ । यतिमात्र होइन, उनीहरुले काठमाडौंमा क्वारेन्टिनका लागि होटल बुकिंग समेत गरेर आउनुपर्ने छ । यो शर्त नियमित उडान मार्फत आउनेहरुको हकमा लागू हुनेछ ।
चार्टर्ड उडानमार्फत आउनेहरुको हकमा पनि यी शर्तहरु लागु हुने छन् । तर, निःशुल्क उद्धार हुनेहरुको हकमा भने केही फरक शर्तहरु छन् । उनीहरुको टिकटदेखि क्वारेन्टिनसम्मको खर्च बैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकमबाट बेहोरिने छ ।
विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको निःशुल्क उद्धारमा लाग्ने सबै खर्च श्रमिकहरुले आफूले व्यहोर्नु पर्ने छैन । तर, यो वर्गमा मलेसिया तथा खाडी मुलुकमा अलपत्र परेकाहरुको हकमा मात्र लागू हुने मन्त्री भट्टराईले बताए ।
वि.सं.२०७७ भदौ १४ आइतवार २२:१९




















