बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो
वि.सं.२०७७ असार ८ सोमवार १०:३९
1.2K
shares
एजेन्सीः बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
रियलले बार्सिलोनासँग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गत शुक्रबार बार्सिलोनाले सेभिल्लासँग गोल रहित बराबरी खेलेसँगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर मिलेको हो । भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै पाहुना टोलीलाई ५० औं मिनेटमा अग्रता दिलाएका थिए । करिम बेन्जिमाले ७० औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउने काम गरे ।
मिकेल मोरिनाले ८३ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए । पाहुना टोली रियलका रामोस गोल गर्ने बित्तिकै चोट बोक्दै मैदान छाडेका थिए । शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोड्यो । सोसिडाड ४७ अंक सहित छैटौ स्थानमा रह्यो । बार्सिलोनाले मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्दा रियलले अर्को दिन घरेलु मैदानमा मोलार्कासँग खेल्नेछ ।
वि.सं.२०७७ असार ८ सोमवार १०:३९




















