उदयपुर सिमेन्ट उद्योग चाँडो सञ्चालन गर्न मजदुर तथा कर्मचारीको माग
वि.सं.२०७७ वैशाख २८ आइतवार १०:५४
1.3K
shares
उदयपुर: कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन सुरु भएसँगै बन्द रहेका गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड चाँडोभन्दा चाँडो सञ्चालन गर्नुपर्ने मजदुर तथा कर्मचारीले माग गरेका छन् ।
लकडाउन केही खुकुलो गरेसँगै विकास निर्माणका काम सुचारु हुन थालेपछि सिमेन्ट अभाव हुन नदिन पनि उद्योग तत्काल सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ । आउँदो दुई अढाइ महिना सिमेन्ट अत्यधिक बिक्री हुने सिजन भएकाले जतिसक्दो चाँडो उत्पादन थाल्नुपर्ने महाप्रबन्धक नवलकिशोर साह बताउँछन् ।
लगातार डेढ महिनादेखि ठप्प उद्योगलाई करोडौं व्यावसायिक घाटा भइसकेको अवस्थामा पिक सिजनमा जति बढी उत्पादन गर्न सक्यो त्यत्ति बिक्री गरेर नाफा आर्जन हुने भएकाले उद्योग तत्काल सञ्चालनमा ल्याउने वातावरण बनाउन सरकारको ध्यान जानुपर्ने साह बताउँछन् ।
दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमताको उद्योगले लकडाउन अवधिमा झन्डै ४० करोड व्यावसायिक घाटा बेहोरिसकेको छ । पूर्ण स्तरमा नचलेर दैनिक सरदर ६ सय टन उत्पादन हुने हिसाबले पनि लकडाउनको ४४ दिनमा २६ हजार चार सय टन सिमेन्ट उत्पादन उद्योगले गुमाइसकेको महाप्रबन्धक साहको भनाई छ ।
उनका अनुसार त्यो परिमाण भनेको पाँच लाख २८ हजार बोरा हो, जसको हाल कायम मूल्य प्रतिबोरा सात सय ४१ ले गुणन गर्दा ३९ करोड १२ लाख ४८ हजार रुपियाँ हुन आउँछ । लकडाउनले कामै नगरी बस्नुपर्दा तीन सय ८० कर्मचारीलाई मासिक ६२ लाख तलब भत्ताबापत झण्डै एक करोड अर्थात ९३ लाख थप अनुत्पादक भार उद्योगलाई परेको छ ।
वि.सं.२०७७ वैशाख २८ आइतवार १०:५४



















