चीनको वुहान शहरमा कोरोना सङ्क्रमित शून्यमा झर्यो
वि.सं.२०७७ वैशाख १५ सोमवार ०८:५५
1.3K
shares
एजेन्सीः चीनको वुहान शहरमा पहिलो पटक कोरोना सङ्क्रमित शून्यमा झरेको छ । गएको डिसेम्बर अन्तिममा पहिलो पटक वुहानमा कोरोना सङ्क्रमण देखिएको थियो । शुक्रबार अस्पतालमा रहेका ११ जना कोरोना सङ्क्रमित डिस्चार्ज गरेपछि एक जना पनि नयाँ बिरामी नथपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । यो सबै स्वास्थ्यकर्मीको मिहेनतले सम्भव भएको चीनको सरकारी समाचार संस्था सिन्हवाले जनाएको छ ।
वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका पनि खबरमा उल्लेख छ । चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको ज्यान गएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको सङ्क्रमणका कारण अहिले विश्वभरी साढे २९ लाख भन्दा धेरैमा कोरोना पुष्टि भएको छ । जसमध्ये ८ लाख ७७ हजारभन्दा धेरै निको भएका छन् । १९ लाख भन्दा धेरैको उपचार चलिरहेको छ । २ लाख ६ हजारभन्दा बढीको भने ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ९ लाख ८६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५५ हजारभन्दा धेरैको ज्यान गएको छ ।
वि.सं.२०७७ वैशाख १५ सोमवार ०८:५५




















