कांग्रेस जिल्ला सभापतिहरूले दिए पार्टी कार्यालयमा धर्ना, माग पूरा नभए निरन्तर धर्ना जारी रहने चेतावनी
क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूको आपत्ति
वि.सं.२०७८ भदौ ८ मंगलवार १२:१६
2K
shares
काठमाडौं: नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् ।
क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्ने लगायत माग गरेर धर्ना बसेका हुन् ।
नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसी सहित २२/२३ जिल्लाका सभापतिहरू आज केन्द्रीय कार्यालयमा धर्नामा पुगेका छन् । ‘आज दुई घन्टा धर्ना दिन्छौं,’ उनले भने, ‘माग पूरा भएन भने भोलिदेखि निरन्तर धर्ना जारी रहन्छ, जिल्ला सभापतिहरू नै धर्नामा आलोपालो गरी बस्नुहुन्छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापति धर्नामा पुगेका छन् । वडा, जिल्लाबाट आएका क्रियाशीलको नामावली काटेर केन्द्रबाट सिधै क्रियाशीलको नाम राखिएको आशंका उनीहरूको छ ।
उनीहरूले महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानको व्यवस्था लागू गरिनुपर्ने बताएका छन् ।
एक निर्वाचन क्षेत्र भएको ठाउँमा क्षेत्रीय प्रतिनिधि पनि जिल्ला सभापति उठ्न पाउने व्यवस्था नेतृत्वले गरेकोमा जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।
क्रियाशील सदस्यको नामावली अहिले नै सार्वजनिक गरेमा भदौ १८ गते हुने वडा अधिवेशनमा लफडा नहुने पनि उनीहरुले बताएका छन् ।
कांग्रेसले ९ लाख क्रियाशील सदस्य बनाएको छ । क्रियाशील सदस्यताबारे विवाद हल गरेर सोमबार बेलुकीमात्र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र नेता पौडेललाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १२:१६




















