१४औं किण्डर ओलम्पिक तीन चरणमा आयोजना हुँदै, २ हजार १०० बालबालिका सहभागी हुने
वि.सं.२०८३ मंसिर १० बिहीवार १४:३४
549
shares
काठमाडौं । ‘जितभन्दा सहभागिता महत्वपूर्ण छ’ भन्ने मूल नाराका साथ १४औं किण्डर ओलम्पिक आयोजना हुने भएको छ । अर्ली चाइल्डहुड एडुकेशन टिचर्स एशोसिएसन ‘एकता’ ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका ५० भन्दा बढी पूर्वप्राथमिक विद्यालयका करिब २ हजार १०० बालबालिका सहभागी हुने आयोजकले जनाएको छ । बालबालिकाको क्षेत्रमा विगत १६ वर्षदेखि क्रियाशील एकताले ३ देखि ६ वर्ष उमेर समूहका बालबालिकालाई सहभागी गराउँदै आएको किण्डर ओलम्पिक यस वर्ष तीन चरणमा सञ्चालन गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो ।

आयोजकका अनुसार प्रतियोगिताको पहिलो चरण आगामी मंसिर १२ गते शनिबार काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ । सहभागी विद्यालय तथा बालबालिकाको संख्या बढी भएकाले दोस्रो चरण पौष १२ गते र तेस्रो चरण माघ १० गते लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा सञ्चालन गरिनेछ । एकताका अध्यक्ष सुर्वण केसरी महर्जनका अनुसार किण्डर ओलम्पिकमा बालबालिकाले विभिन्न १८ विधाका खेलमा सहभागिता जनाउनेछन् । कार्यक्रमलाई व्यवस्थित तथा सहज बनाउन प्रत्येक चरणमा ५० भन्दा बढी स्वयंसेवक परिचालन गरिने पनि उनले जानकारी दिए ।
खेलकुदका क्रममा बालबालिकालाई प्रतिस्पर्धाभन्दा व्यक्तिगत लक्ष्य हासिल गर्न प्रोत्साहित गरिने आयोजकले जनाएको छ । खेल समापनपछि सहभागी सबै बालबालिकालाई पदक तथा विद्यालयहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । संस्थापक सदस्य रुपा अधिकारीले सानै उमेरदेखि बालबालिकामा खेलप्रतिको रुचि जगाउन, आत्मविश्वास बढाउन तथा नैतिकता, इमान्दारिता र जिम्मेवारीबोध विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । त्यस्तै, एकताका संस्थापक सदस्य तथा १४औं किण्डर ओलम्पिक संयोजक विना शर्माले साना उमेरका बालबालिकाका लागि अन्तरविद्यालयस्तरीय खेलकुद तथा अन्य कार्यक्रम सञ्चालन गर्ने संस्था नहुँदा उनीहरू विद्यालयभित्रै सीमित हुने अवस्था रहेको बताइन् ।

पूर्वप्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाको बालमैत्री व्यवहार र पेशागत विकाससँगै बालमैत्री अन्तरविद्यालय कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आफूहरू मिलेर संस्था स्थापना गरेको उनले पत्रकार सम्मेलनमा जानकारी गराइन् । बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा खेलकुदको महत्वलाई आत्मसात् गर्दै आयोजना गरिने किण्डर ओलम्पिकले सानै उमेरदेखि खेलकुदप्रति सकारात्मक भावना विकास गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।
वि.सं.२०८३ मंसिर १० बिहीवार १४:३४


















