सेना-सञ्चार सम्बन्ध प्रगाढ रहिरहने विश्वास
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१
1.3K
shares
काठमाडौं: राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ताको पहिलो पहरेदार नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवम् प्रवक्ताको जिम्मेवारी मंसिर ३ गतेबाट सहायकरथी राजेन्द्र श्रेष्ठले सम्हालेका छन् । निवर्तमान सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतको प्रधानसेनापतिको सचिवालयमा सैन्य सहायकका रुपमा सरुवा भएपछि सहायकरथी श्रेष्ठलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी सैनिक मुख्यालयले सुम्पिएको हो ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निवर्तमान निर्देशक एवम् सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतको करिव १८ महिने कार्यकालमा संविधानप्रदत्त जिम्मेवारी र अधिकार क्षेत्रभित्र रही सूचना तथा समाचार सम्प्रेषणमा आमसञ्चार माध्यमले अत्यन्तै सहजता महसूस गरेका थिए । राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन, विकास-निर्माणलगायतका सैनिक क्रियाकलापका सूचना तथा समाचार सम्प्रेषणमा सहायकरथी बस्नेतको कार्यकाल नेपाली सञ्चार माध्यमका लागि अविष्मरणीय रह्यो ।

राष्ट्रिय सुरक्षा र नागरिकको सूचनाको अधिकारबीच सन्तुलन कायम गर्न संविधानप्रदत्त जिम्मेवारी र अधिकार क्षेत्रको हिसाबले सैनिक प्रवक्तालाई कहिलेकाहिं सकस हुनसक्छ । त्यो सकसका बीच सञ्चार माध्यमसँग व्यवसायिक सम्बन्ध जीवन्त राख्न गरिने प्रयास सैनिक प्रवक्ताको खुबीमा भरपर्छ । नवनियुक्त सैनिक प्रवक्ता सहायकरथी श्रेष्ठले सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा भनेका छन्- ‘संविधानप्रदत्त जिम्मेवारी र अधिकार क्षेत्रभित्र रही देशको समग्र हित र राष्ट्रिय सुरक्षाको सम्वेदनशीलतालाई ख्याल गर्दै जतिसक्दो चाँडो सही सूचना सञ्चार माध्यमलाई उपलब्ध गराउन क्रियाशील रहने छु ।’
सञ्चार माध्यमले सैनिक प्रवक्ताको अधिकार क्षेत्रभन्दा अलि पर पुगेर सूचना खोज्दा त्यतिबेला समयमै आफ्नो जिम्मेवारी र कार्यक्षेत्रबारे सञ्चार माध्यमलाई सम्झाउन सकियो भने उत्पन्न हुनसक्ने दरारमा ‘ब्रेक’ लगाउन सकिन्छ । हतियार बोक्ने सेना र कलम बोक्ने पत्रकार पेशा नितान्त फरक हुन् । तर, दुवैको एउटै लक्ष्य देश र जनताको रक्षा र हित नै हो । यही आदर्शलाई पछ्याउँदै नवनियुक्त सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवम् सैनिक प्रवक्ता सहायकरथी राजेन्द्र श्रेष्ठको कार्यकालमा पनि नेपाली सेना र सञ्चार माध्यमबीचको सम्बन्ध उत्तिक्कै सुमधुर, प्रगाढ र आत्मीय रहने विश्वास नेपाली सञ्चार क्षेत्रले लिएको छ ।
वि.सं.२०८३ मंसिर ४ शुक्रवार १३:३१



















