उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व विधिवत रुपमा सम्पन्न
वि.सं.२०८० मंसिर ४ सोमवार ०७:३७
1.1K
shares
काठमाडौं: उदाउँदो सूर्यलाई अर्घ्य दिएर आजबाट छठ पर्व विधिवत रुपमा सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध सहितको अर्घ्य दिएपछि पर्व सम्पन्न भएको हो ।
आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए । छठका व्रतालुले कार्तिक शुक्ल षष्ठीको अपराह्न अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । तर तिथिको घटबढका कारण सोमबार अष्टमी तिथि परेको थियो । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ । छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ ।
छठपूजामा सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ्य दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसवा, किसानबाट उत्पादित अदुवा र बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानीसिंगडा, सुथनी, उखु, सुन्तला, स्याउ, सुन्तला लगायतका फलफूल पनि चढाइएको छ ।
छठ पर्वको व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइने र सन्तान सुख प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ । विशेष नियम र निष्ठासाथ मनाइने छठ पर्वका लागि नदी, पोखरी, कुवा, ईनार तथा जलाशयहरु सिंगारिएको थियो ।
वि.सं.२०८० मंसिर ४ सोमवार ०७:३७