धनगढी आगलागीबाट झण्डै १८ करोडको क्षति

वि.सं.२०८० मंसिर २ शनिवार १६:४३

कैलाली: विद्युत् सर्ट भएर धनगढी बजारमा रहेको सारथी अस्पतालसहित आधा दर्जन बढी पसलमा भएको आगलागीबाट झण्डै १८ करोडको क्षति भएको छ ।
आगलागीबाट १७ करोड ९७ लाख २० हजार बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए । आगलागीबाट सारथी अस्पताल प्रा.लि.को पाँच करोड ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख, सुदिक्षा इन्टरप्राइजेजको एक करोड २० लाख रुपैयाँ बराबरको मालसामान नष्ट भएको छ ।
यस्तै, भट्ट सप्लायर्सको ७० लाख, भण्डारी शू सेन्टरको ५० लाख, भण्डारी जनरल स्टोरको चार करोड २५ लाख, मधुमाला कलेक्सनको ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको भनाइ छ । यसैगरी, सुभिक्षा बेबीसपको ९० लाख, खाद्य व्यापार तथा कम्पनी लिमिटेडको चार करोड रुपैयाँ बराबरको गोदामको भौतिक संरचना र गोदाममा कार्यरत कर्मचारीको दुई लाख २० हजार रुपैयाँ बराबरको स्कुटर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब १ बजे भण्डारी सू सेन्टरमा अचानक विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । सारथी अस्पतालमा आगलागी भएपछि राति नै बिरामीहरूलाई अन्यत्र सारिएको अस्पतालले जनाएको छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोलीसमेत परिचालन गरिएको थियो ।

वि.सं.२०८० मंसिर २ शनिवार १६:४३