नेपाली कामदार रोजगारीका लागि विदेशिनेको संख्या बढ्दो
बैदेशिक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भएपनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढ्दो

वि.सं.२०७९ माघ ५ बिहीवार १०:३०

काठमाडौं: सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक बैदेशिक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भएपनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिना (साउनदेखि पुससम्म)मा करिव ४ लाख नेपाली रोजगारीका लागि मलेसिया र खाडी लगायतका मुलुकका देशमा गएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आ.व. २०७९/८० को पहिलो ६ महिनामा ३ लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका छन् । जसमध्ये सबैभन्दा बढी मलेसिया र खाडी मुलुक कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान लगायतका देशमा जानेहरु ८० प्रतिशत रहेको छ । बाँकी अन्य देशमा गएको तथ्याङ्कमा उल्लेक छ ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले मंगललबार पदबहालीकै क्रममा बाध्यात्मक वैदेशिक रोजगारीलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरे । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या हेर्दा तत्काल बाध्यात्मक वैदेशिक रोजगारी रोकिने अवस्था नदेखिएको सरोकारवाला बताउँछन् ।
पछिल्लो समयमा संस्थागत र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर १२० देशमा नेपाली पुगेका छन् । श्रम स्वीकृति नलिई जानेको सङ्ख्या पनि हजारौँ छ । अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतजस्ता मुलुकमा पनि नेपाली काम गर्न गएका छन् । यी मुलुकमा डिपेन्डेन्टका रूपमा काम गर्न जाने धेरै छन् ।

वि.सं.२०७९ माघ ५ बिहीवार १०:३०