शेर्पा समुदायले आज २१४९औँ ग्याल्पो ल्होसार मनाउँदै
वि.सं.२०७८ फागुन १९ बिहीवार ०८:१०
4.8K
shares
काठमाडौं: शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको विज्ञको भनाई छ ।
ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ । शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् ।
यो समुदाय बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।
दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ ।
तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।
पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
सरकारले ग्याल्पो ल्होसारका उपलक्ष्यमा आज मुलुकभर सार्वजनिक बिदा दिएको छ ।
वि.सं.२०७८ फागुन १९ बिहीवार ०८:१०



















