‘एनएनआईपीए सर्वोकृष्ट खेलाडी’को अवार्ड विमल अधिकारी र निमा गुरुङले जिते
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५१
1.5K
shares
काठमाडौं: प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङले यो वर्षको सर्वोत्कृष्ट खेलाडी अवार्ड हात पारेका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले काठमाडौँमा आयोजना गरेको एनएनआइपीए स्पोर्टस अवार्डमा अधिकारीले पुरुष तर्फ र गुरुङले महिलातर्फको सर्वोत्कृष्ट उपाधि हात पारेका हुन् ।
विमलले इन्डोनेसीयाको जाकार्तामा भएको एशियाडमा नेपाललाई ऐतिहासिक रजतपदक दिलाउन महत्वपुर्ण भूमिका खेलेका थिए भने निमाले एशियाडमा तेक्वान्दोमा राम्रो प्रदर्शन गर्नुका साथै राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट नतिजा निकालेकी थिइन् । दुबै खेलाडीलाई एक-एक लाख रुपैयाँ प्रदान गरिएको छ ।
यस्तै यो वर्ष उदयीमान खेलाडीको अवार्ड महिला तर्फ भलिबलकी सरस्वती चौधरी र पुरुषतर्फ एथ्लेटिक्सका अजित कुमार यादवले हात पारेका छन् । दुबै खेलाडीले ५०-५० हजार रुपैयाँ नगद पुरस्कार पनि हात पारेका छन् । यस्तै गजराज आदर्श खेलाडी अवार्डबाट बक्सिङका प्रशिक्षक मदन गुरुङ सम्मानित भएका छन् ।
२९ खेलका उत्कृष्ट खेलाडीमा फुटबलबाट भरत खवास, भलिबलकी सरस्वती चौधरी, कबड्डीमा मेनुका कुमारी राजवंशी, फेन्सिङमा ओमकार सिंह, स्क्वासमा अमृत थापामगर, सेपाताक्रोमा रोशन तामाङ, स्पोर्टस क्लाइम्बिङमा पेम्बा शेर्पाले अवार्ड हात पारे । यस्तै पेन्कक सिलातमा गोविन्द चौधरी, कुराशमा उपेन्द्र थापा, रोलर स्पोर्टसमा मिलन शाह ठकुरी, बास्केटबलमा मनिष राज उपाध्याय, तेक्वान्दोमा निमा गुरुङले अवार्ड हात पार्दा पौडीका सुभम श्रेष्ठ, टेबल टेनिसकी नविता श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङमा पुनम रावल, प्याराग्लाइडिङमा विमल अधिकारी, भारत्तोलनमा संजु चौधरी, लन टेनिसमा प्रेरणा कोइराला उत्कृष्ट घोषित भए ।
यसैगरी ब्याटमिन्टनमा दिपेश धामी, ट्रायथलनमा बसन्त थारु, करातेमा विजय श्रेष्ठ, जुडोमा इन्द्रबहादुर श्रेष्ठ, उसुमा जुनी राई, आर्चरीमा तिलक पुन मगर, एथ्लेटिक्समा अजित कुमार यादव, गल्फमा टंक बहादुर कार्की र कुस्तीमा रमेश गौतम उत्कृष्ट बने । कार्यक्रममा स्पोर्टस जर्नालिस्टको अवार्ड राजेन्द्र चित्रकारले हात पारे भने स्पेशल अवार्डबाट पत्रकार प्रज्वल ओली सम्मिानित भएका छन् । २९ खेलमा उत्कृष्ट हुने खेलाडीलाई जनही १०-१० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:५१


















