आज ७०औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:२८
1.3K
shares
काठमाडौं: एक सय चार वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।
सरकारले प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै अहिले हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल पाएका छौँ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो । नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
प्रजातन्त्र दिवस मूल समारोह समितिले आज विहान सैनिक मञ्च टुँडिखेलमा औपचारिक समारोहको आयोजना गर्दैछ । ७०औँ दिवस मूलसमारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको बैठकले दिवस मनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । दिवस भव्यरुपमा मनाउन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा प्रचारप्रसार, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मञ्च सजावट तथा व्यवस्थापन र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको संयोजकत्वमा चौर, कवाज, ब्यायाम व्यवस्थापन समन्वय उपसमिति गठन गरिएको छ ।
दिवसका अवसरमा फागुन ६ गतेदेखि नै तीन दिनसम्म विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख लगायतको उपस्थिति रहनेछ । यसैवीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका नेताहरुले प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्र शब्दमा नभइ कर्ममा र रुपमा नभइ सारमा झल्किनुपर्ने जनाएका छन् ।
वि.सं.२०७६ फागुन ७ बुधवार ०७:२८




















