आईसीसी यु नाईन्टिन विश्वकप क्रिकेटको उपाधि बंगलादेशले जित्यो
वि.सं.२०७६ माघ २७ सोमवार ०८:५८
1.4K
shares
एजेन्सीः आईसीसी विश्वकप यु-१९ क्रिकेटको उपाधि बंगलादेशले जितेको छ । पहिलो पटक फाइनलमा पुगेको बंगलादेशले डिफेन्डिङ च्याम्पियन भारतलाई ३ विकेटले पराजित गरेको हो । भारतले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि बंगलादेशले नयाँ लक्ष्य पाएको थियो । ४६ ओभरमा एक सय ७० रनको नयाँ लक्ष्य बंगलादेशले ७ विकेट गुमाएर पुरा गर्यो ।
पहिलो विकेट ५० रन हुँदा गुमाएको बंगलादेशले ८५ रन जोड्दा ५ विकेट खेर फालेको थियो । बंगलादेशका पर्वेज हुसेन इमोनले सर्वाधिक ४७ रन बनाउँदा कप्तान अकबर अलिले नट आउट ४३ रन बनाए । तान्जित हसनले १७ रन जोडे । भारतका रवि विश्नोईले ४ विकेट लिँदा सुशान्त मिश्राले २ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४७ ओभर दुई बलमा एक सय ७७ रनमा अलआउट भयो । भारतका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । ओपनर एसस्वी जैसवालले ८८ रन बनाउँदा तिलक बर्माले ३८ तथा ध्रुब जुरेलले २२ रन बनाए । बाँकी खेलाडी राम्रो रन बनाउन सकेनन् । भारतका आठ खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । भारतको पारीलाई कमजोर पार्न बंगलादेशका अभिशेख दाशले तीन तथा सोरिफुल इस्लाम र तान्जिन हसन सकिवले दुई दुई विकेट लिए ।
वि.सं.२०७६ माघ २७ सोमवार ०८:५८




















