इजिप्टमाथि अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन जित, जितपछि भावुक बने मेस्सी
वि.सं.२०८३ असार २४ बुधवार ११:२१
201
shares
काठमाडौं: जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ मा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३-२ गल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको रोमाञ्चक खेलमा इजिप्ट ६९औँ मिनेटसम्म २-० ले अगाडि रहे पनि अन्तिम ११ मिनेटमा ३ गोलले पछि पर्दै पराजित हुन पुग्यो ।
इजिप्टले १५औँ मिनेटमा यासेर इब्राहिमको हेडरमार्फत अग्रता लियो । त्यसपछि गोलरक्षक मोस्तफा शोबिरले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनाका लगातार प्रयास विफल पारे । उनले लियोनेल मेस्सीको पेनाल्टी बचाउनुका साथै एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजका उत्कृष्ट प्रहार पनि रोके । खेलको ५९औँ मिनेटमा इजिप्टले दोस्रो गोल गर्यो । तर भिआर मार्फत पहिले नै अर्जेन्टिनामाथि इजिप्टले फाउल भएको भन्दै उक्त गोल अस्वीकृत गरियो ।

खेलमा इजिप्टले काउन्टर अट्याकमा दोस्रो गोल गर्न सफल भयो । सलाह र हसनको समन्वयमा जिजोले ६७औँ मिनेटमा गोल गर्दै इजिप्टलाई २-० को बलियो अवस्थामा पुर्याए । तर त्यसपछि खेलको दृश्य नै बदलियो । अर्जेन्टिनाका लागि ७९ औँ मिनेटमा क्रिस्टियन रोमेरोले एक गोल फर्काए । त्यसको ५ मिनेटपछि कप्तान मेस्सीले उत्कृष्ट फिनिसिङ गर्दै खेल २-२ को बराबरीमा ल्याए । जारी विश्वकपमा सर्वाधिक ८ गोल गरेका मेस्सीको समग्रमा २१ गोल पुगेको छ । खेलको अतिरिक्त समयको दोस्रो मिनेटमा अर्जेन्टिनाको लागि एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिना ३-२ को ऐतिहासिक जित दर्ता गर्दै विश्वकप उपाधि रक्षाको यात्रालाई जीवित राख्यो ।
जितपछि भावुक बनेका मेस्सी
इजिप्टमाथिको अविस्मरणीय पुनरागमन जितपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी भावुक बने । खेल सकिएपछि उनी मैदानको बीचमा आँसु झार्दै टोलीका साथीहरूको काँधमा टाउको राखेर रोइरहेका थिए । यो दृश्य उनको ऐतिहासिक विश्वकप यात्राको अर्को स्वर्णिम अध्याय बन्यो ।
इजिप्टसँग २-० गोल अन्तरले पछि परेको अवस्थामा निराश मुद्रामा देखिएका मेस्सीलाई देखेर धेरैले साविक विजेता प्रतियोगिताबाट बाहिरिने अनुमान गरेका थिए । यदि अर्जेन्टिना पराजित भएको भए, मेस्सीका आँसु पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका आँसुझैँ विश्वकपबाट बिदाइका आँसु बन्ने थिए । रोनाल्डो स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि भावुक हुँदै विश्वकपबाट बाहिरिएका थिए ।

३९ वर्षीय मेस्सी अहिले पहिलेजस्तो तीव्र गतिमा नदौडे पनि उनको जादु अझै कायम छ । उनी खेल अध्ययन गर्छन् , सही समय पर्खिन्छन् र निर्णायक क्षणमा आफ्नो प्रतिभा देखाउँछन् । शरीर केही सुस्त भए पनि उनको सोच र खेल बुझ्ने क्षमता अझै धारिलो छ । यो विश्वकपमा मेस्सीले पेनाल्टी गुमाएको दोस्रो पटक थियो । यसअघि अस्ट्रियाविरुद्ध पनि उनले पेनाल्टी चुकाएका थिए । विश्वकप इतिहासमा सुटआउट बाहेक एउटै संस्करणमा दुई पेनाल्टी असफल हुने उनी पहिलो खेलाडी बने । खेलपछि अर्जेन्टिनाका समर्थकले लामो समयसम्म गीत गाउँदै टोलीको जित मनाए भने टोलीका खेलाडीहरूले मेस्सीलाई काँधमा उठाएर उत्सव मनाए ।
वि.सं.२०८३ असार २४ बुधवार ११:२१




















