नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै
वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६
819
shares
काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार ८:४५ बजे सुरु हुँनेछ । ओमानलाई हराएमा नेपालको आगामी टी-२० विश्वकपमा चयन लगभग पक्का हुने मात्र होइन, नेपाल उपाधिकै नजिक पुग्नेछ ।
नेपाल समग्रमा तेस्रो र लगातार दोस्रोपल्ट टी-२० विश्वकप खेल्ने अभियानमा छ । नेपाल र ओमानबीचको खेल चालु प्रतियोगितामा दुई उत्कृष्ट टिमबीचको भिडन्त पनि हो । आज यी दुईमध्ये एकको अपराजित यात्रा तोडिनेछ । अहिले ओमान र नेपाल समान ६ अंकमा छन् यद्यपि ओमान रन अन्तरले शीर्ष स्थानमा छ ।
इतिहास हेर्ने हो भने हेड टु हेडमा ओमानभन्दा नेपाल धेरै अगाडि छ । यी दुई टिमबीच अहिलेसम्म भएका ७ खेलमा नेपालले ५ र ओमानले दुई खेल जितेको छ । यद्यपि ओमानको लयलाई हेर्ने हो भने विगतका नतिजाले सायदै यी दुवै टिमलाई फरक पार्नेछ ।
यस प्रतियोगितामा ओमानले युएईसँग बाहेक प्रायः खेल सहजै जितेको छ । नेपालले भने प्रायः खेल जित्न सङ्घर्ष गर्नु परेको छ । यद्यपि अन्तिम समयसम्म हार नमान्ने नेपालले यस प्रतियोगितामा प्रायः खेलमा हारको स्थितिबाट नतिजा उल्ट्याएको छ । यही विशेषताले नेपाललाई खतरनाक टिमका रूपमा प्रस्तुत गरेको छ ।
सुपर सिक्स चरणका खेलहरूमा नेपालले यूएई र कतारविरुद्ध हारको मुखबाट फर्काउँदै नेपालले जित हात पारेपछि अन्तर्राष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको चर्चा भइरहेको हो । नेपालको सफलतामा प्रायः जितमा फरक फरक खेलाडी नायक बनेका छन् । त्यसैले ओमानविरुद्धको खेलमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, कप्तान रोहित पौडेल, गुल्सन झा, आसिफ शेखमा नेपालको विशेष अपेक्षा हुनेछ ।
कतारविरुद्ध पाँच रनको जित सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले सोमबार राति कतारलाई ५ रनले हरायो । बलिङ र फिल्डिङमा नेपालको चम्किलो प्रदर्शन प्रशंसनीय देखिए पनि ब्याटिङ भने अझै कमजोर देखिएको छ । नेपाल दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको शृङ्खला जित्दै नेपाल आत्मविश्वासका साथ ओमान पुगेको हो ।
सुपर सिक्सका दुवै खेलमा नेपालको बलिङ र फिल्डिङ नै जितको मेरुदण्ड बन्यो । तर कमजोर स्ट्राइक रेट र मिडल ओभरमा सुस्त रन गति नेपालको मुख्य समस्याका रुपमा देखा परेको छ । यसलाई सुधार्दै आजको खेल जित्नेमा नेपाली खेलाडीको विश्वास छ । नेपालले अन्तिम खेलमा शुक्रबार सामोआसँग खेल्नेछ ।
वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६




















