एक खेल अगावै नेपाल टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा
वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३
1.7K
shares
काठमाडौं: नेपालले एक खेल अगावै टी-२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ । आज भएको एसियाली क्षेत्र छनोटको सुपर-३ चरणमा यूएईलाई ५ विकेटले हराउँदै नेपालले ग्लोबल छनोटमा स्थान बनाएको हो ।
नेपालको जितका लागि युएईले दिएको ११५ रनको लक्ष्य १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो । यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् । यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन् भने लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन् ।
नेपालकी कप्तान इन्दु बर्माले अविजित रहँदै सर्वाधिक ३० रन बनाइन् । २८ बल खेलेकी उनले दुई चौका प्रहार गरिन् । रुविना क्षेत्री बेलबासेले १८ बलमा तीन चौकासहित २३ रनको योगदान दिइन् । ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रनमा आउट हुँदा रुबि पोद्दार ६ रनमा अविजित रहिन् । युएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले समान एक विकेट लिइन् ।
नेपालकी मनीषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् । चार ओभर बलिङ गरेकी उनले २० रन मात्रै खर्चिइन् । कविता कुँवरले दुई र राजमती ऐरीले एक विकेट आफ्नो नाममा लेखाइन् ।
वि.सं.२०८२ जेठ ५ सोमवार १२:३३




















