एनएसएलको तेस्रो सिजनमा पहिलोपटक ‘मिनी अक्सन’ हुँदै
वि.सं.२०८१ फागुन ९ शुक्रवार १७:०१
1.6K
shares
काठमाडौं: नेपाल सुपर लिग (एनएसएल)को तेस्रो सिजनमा पहिलोपटक ‘मिनी अक्सन’ हुने भएको छ । एनएसएलले विज्ञप्ति जारी गरी शनिबार मिनी अक्सन हुने बताएको हो । यसलाई खेलकुदमा नयाँ उपलब्धिको रुपमा लिइएको एनएसएलले दाबी गरेको छ ।
यससँगै पहिलोपटक खेलाडीको रिटेन र रिलिज नीति लागू हुँदैछ । लिगमा दर्ता भएका ६० मध्ये १५ जना ‘क्याटेगोरी ए’ र ४५ जना ‘क्याटेगोरी बी’का खेलाडीहरू अक्सनमा सहभागी हुनेछन् । अक्सनका लागि सात फ्रेन्चाइज टोलीहरूलाई निश्चित मापदण्ड अनुसार खेलाडी रिटेन गर्ने सुविधा दिइएको छ ।
प्रत्येक टोलीले ‘क्याटेगोरी ए’ बाट एक खेलाडी र ‘क्याटेगोरी बी’ बाट दुई खेलाडीसम्म रिटेन गर्न सक्नेछन् । तर ती खेलाडीहरू दोस्रो सिजनमा उनीहरूसँग अनुबन्ध भएको हुनुपर्नेछ । बाँकी खेलाडीहरू अक्सनमार्फत नै समावेश हुनेछन् ।
नेपाल सुपर लिगको सञ्चालक निकाय (एनएसईएम)ले अक्सनका लागि दर्ता भएका खेलाडीको नाम फ्रेन्चाइज टोलीहरूलाई दिइसकिएको जनाएको छ । अक्सन चार घन्टाभित्र सकिने र अक्सनको नेतृत्व देवेन्द्र सुवेदीले गर्ने बताइएको छ ।
मिनी अक्सनको सुरुवातसँगै एनएसएलको संरचनालाई अझ बलियो बनाउने तथा खेलाडी र समर्थकहरूका लागि रोचकता थप्ने लक्ष्य राखिएको छ । नयाँ खेलाडी रिटेन प्रणालीले आगामी सिजनमा रणनीति र प्रतिस्पर्धाको बाटो खुल्ने एनएसएलले जनाएको छ ।
वि.सं.२०८१ फागुन ९ शुक्रवार १७:०१



















