एक दिवसीय शृंखलामा नेपाल ‘ए’ ले आयरल्यान्डसँग भिड्दै

वि.सं.२०८० चैत २१ बुधवार ०७:२२
1.4K
shares
काठमाडौं: नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखला अन्तर्गत आज पहिलो खेल आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल शुरू हुनेछ ।
नेपाल ‘ए’ मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् । तेस्रो टी-२० खेलमा नेपाल ‘ए’ लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ‘ए’ मा छन् । नेपालको बलरमा कमलसिंह ऐरी, रिजन ढकाल र मौसम ढकाल पनि छन् । नेपाल र आयरल्यान्डबीचको खेल कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । उता आयरल्यान्डका पिटर मुर, ग्यारेथ डेलानी र कप्तान निल रक प्रमुख ब्याटर हुन् ।
नेपाल ‘ए’ले यसअघि आयरल्यान्ड उल्भ्ससँग तीन खेलको टी-२० शृंखला खेलेको थियो । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । २२२ रनको लक्ष्य पछ्याएको नेपालले २०१ रन मात्रै बनाएको थियो । दोस्रो खेलमा पनि नेपालले २२५ रनको विशाल लक्ष्य पाएको थियो । तर, नेपालले १८४ रन मात्रै बनाउन सक्यो । र, ४० रनले पराजित भयो । तेस्रो खेलमा भने नेपाल पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गर्दै शृंखलामा क्लिन स्वीप हुन जोगिएको थियो । दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।
नेपाल ‘ए’ को टोली
विनोद भण्डारी, अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास अग्री र मौसम ढकाल ।

वि.सं.२०८० चैत २१ बुधवार ०७:२२