एस टी-२० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबलाई
वि.सं.२०७९ माघ ५ बिहीवार १७:४८
1.6K
shares
काठमाडौं: भक्तपुरस्थित सैनिक महाविद्यालयको मैदानमा आयोजना गरिएको एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजित एस टी-२० लिग क्रिकेटको उपाधि पुल्चोक क्रिकेट क्लबले जितेको छ ।
पुल्चोक क्रिकेट क्लबले फाइनल खेलमा किङ्ग्स क्रिकेट क्लबलाई हराउँदै नगद ४५ हजार रुपैयाँ सहितको उपाधि जितेको हो ।
खेलमा उपाधि हात पार्ने पुल्चोक क्रिकेट क्लब तथा दोस्रो हुने किङ्ग्स क्रिकेट क्लबलाई प्रतिनिधिसभा सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य सोविता गौतम र प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मेडल तथा शिल्ड प्रदान गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा खेलको म्यान अफ द म्याच सागर थापा घोषित भए भने नवीन यादव, सुवास खत्रीले उत्कृष्ट ब्याट्सम्यान र बलरको उपाधि लिए ।
उपत्यकाका विभिन्न क्लबका ८ टिम सहभागी प्रतियोगिता युवालाई क्रिकेट खेलप्रति रुचि जगाउन र नेपालको नाम विश्वमा उच्च रूपमा राख्ने अभिप्रायले आयोजना गरेको आयोजक एस क्रिकेट एवं इभेन्ट्का प्रमुख एवं युवा क्रिकेट खेलाडी सर्वोच्च बस्नेतले बताए ।
कार्यक्रममा बोल्दै सांसद गौतमले खेलकुदमार्फत देशलाई चिनाउनका लागि पर्याप्त बजेट र प्राथमिकता दिनुपर्ने सुझाव राखे । कलिलो उमेर समूहका एस टीमले क्रिकेटलाई बलियो बनाउन गरेको प्रयास देखेर आफूलाई खुशी लागेको भन्दै सांसद गौतमले यो अभियानमा आफू हातमा हात मिलाएर अघि बढ्ने बताए ।
अक्षरा स्कुलका प्रिन्सिपल अञ्जु भट्टराईले युवाहरुमा क्रिकेट मोह बढी भएकाले युवाका उत्साह र उर्जालाई जोगाई यो क्षेत्रको विकास गर्न सबै जुट्नुपर्ने बताए ।
यो प्रतियोगिताको टाइटल स्पोन्सर सिम्रिक हेलिकप्टर प्रा.लि.ले गरेको थियो भने को-स्पोन्सर सिनामँगलस्थित क्रिस्टल डाइग्नोक्स्टिक प्रा.लि.ले गरेको थियो ।
त्यस्तै अन्य प्रायोजकहरुमा ब्रिलियन्ट एजुकेसन एण्ड करियर सर्भिस, आइएसएमटी कलेज, अक्षरा स्कुल, जीसीडी एचआर एण्ड म्यानेजमेन्ट कन्सल्टेन्सी र अर्बिट इन्टरनेस्नल एजुकेसन रहेको थियो ।
कोरोना महामारीपछि उपत्यकामा यस्ता प्रकारको खेल आयोजना हुन छाडेपछि खेलप्रेमीमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरिएको आयोजक प्रमुख बस्नेतले बताए । एस स्पोर्ट्स चर्चित क्रिकेट खेलाडी र क्रिकेटप्रेमी मिलेर सञ्चालनमा आएको हो ।
केही महिनाअघि ललितपुरमा मुलुकमै पहिलोपल्ट इन्डोरको फुल कोर्टमा प्रतियोगिता गराएर चर्चा आएको एस स्पोर्ट्सले नयाँ युवालाई प्रतियोगितामा सहभागिता गराएर खेलमा आकर्षक बनाएको आयोजक संस्थाका निर्देशक सुनिलकुमार ठाकुरले बताए ।
वि.सं.२०७९ माघ ५ बिहीवार १७:४८



















