सीपीएलमा जमैकाको लगातार दोश्रो हार
वि.सं.२०७७ भदौ ७ आइतवार ०८:४६
2K
shares
एजेन्सीः क्यारेवीयन प्रिमियर लिग (सीपीएल) मा सन्दिप लामिछाने सम्मिलित टोली जमैका तलावाह्जले लगातार दोश्रो हार व्यहोरेको छ ।
क्यारेवीयन मुलुक ट्रिनीडाड एण्ड टोबागोस्थित ब्रायन लारा एकेडेमीमा गएराति भएको खेलमा गुयानाले जमैकामाथि १४ रनको जित निकालेको हो ।
गुयानाले दिएको ११९ रनको समान्य लक्ष्य पछ्याएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जम्मा १०४ रन मात्र बनाउन सक्यो ।
१९ रनको लक्ष्य पछ्याउँदै जवाफी ईनिङ्गमा ओर्लिएको जमैकाको शुरुवात निकै फितलो रहेको थियो । उसले शुरुवाती ५७ रन जोड्न आफ्नो ७ विकेट खेर फालेको थियो । यसपछि ब्याटिङ्गमा ओर्लिएका आन्द्रे रसेलले जमैकाको आश केही बढाएका थिए ।
उनले विष्फोटक ईनिङ्ग खेल्दै ३७ बलमा ४ चौका र ५ छक्काको मद्दतमा नटआउट ५२ रन बनाए । कप्तान रोभ म्यान पावेलले २३ र असिफ अलिले १४ रन बनाएका थिए भने सन्दिप शुन्यमा पभिलियन फर्किएका थिए ।
गुयानाको बलिङ्गमा कप्तान क्रिस ग्रिनले सर्वाधिक २ विकेट लिए भने ईमरान ताहिर, असमेड निड, नविन उल हक, किमो पौल र चन्द्रपल हेमराजले समान १–१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ्ग गरेको गुयानाले १९.१ ओभरमा सबै विकेट गुमेर ११८ रन बनाएको थियो ।
गुयनाको लागि ओपनर ब्रेन्डन किङ्गले सर्वाधिक २९ रन, चन्द्रपौल हेमराज र रस टेलरले समान २१ रन तथा नविन उल हकले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जमैकाको बलिङ्गमा मुजिब उर रहमानले सर्वाधिक ३ विकेट लिए भने सन्दिप लामिछानेले ४ ओभरमा मात्र ८ रन खर्चिएर २ विकेट लिएका थिए । कार्लोस ब्राथवेटले २ तथा आन्द्रे रसेलले १ विकेट लिए ।
जितसँगै गुयाना सीपीएलको अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ भने जमैका ६ टोली सम्मिलित लिगको पाँचौ स्थानमा पुगेको छ ।
वि.सं.२०७७ भदौ ७ आइतवार ०८:४६


















