इन्डियन प्रिमिर लिग आइपीएलमा गेलको अर्धशतकसँगै पञ्जावको विजयी सुरुवात
वि.सं.२०७५ चैत १२ मंगलवार ०८:१२
861
sharesकाठमाडौं: किङ्स इलाभेन पन्जाबले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । हिजो भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।
जयपुरमा पन्जाबले दिएको एक सय ८५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर एक सय ७० रन मात्र बनाउन सक्यो । राजस्थानका लागि जोश बट्लरले ६९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै राजस्थानका लागि सन्जु सामसनले ३०, कप्तान अजिंका रहानेले २७ तथा स्टिभ स्मिथले २० रन बनाए ।
पन्जाबका साम कुरान, मुजिब उर रहमान र अंकित राजपुतले समान २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभरमा ४ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । पन्जाबको लागि क्रिस गेलले ७९ रनको अर्धशतकीय इनिङ्स खेले । योसंगै गेलले आईपीएलको एक सय १३ खेलमा ४ हजार रन पुरा गरे । यस्तै पन्जाबका लागि सर्फ्राज खानले अविजित ४६ रन जोड्दा मायांक अग्रवालले २२ रन जोडे ।
वि.सं.२०७५ चैत १२ मंगलवार ०८:१२