उपाधि दाबेदार रियल मड्रिडको सहज जित, एट्लेटिको मड्रिड बराबरीमा रोकियो
वि.सं.२०७७ असार १ सोमवार ०८:१३
1.8K
shares
एजेन्सीः स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार क्लब रियल मड्रिडले सहज जित निकालेको छ । कोरोना भाईरसले स्थगित लिग सुचारु भएपछिको पहिलो खेलमा रियलले आइतबार राति इबरलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अल्फ्रेडो डी स्टेफानो मैदानमा रियललाई जित दिलाउन टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा क्रुसको गोलबाट रियलले अग्रता बनाएको थियो । ३०औं मिनेटमा रामोसले गोल गर्दै रियलको अग्रता दोब्बर बन्यो । त्यसपछि खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो ।
दोस्रो हाफमा इबरले एक गोल फर्कायो । खेलको ६०औं मिनेटमा पेड्रोले सान्त्वना गोल फर्काएपनि टोलीको हार जोगाउन सकेन । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत घटाएको छ । र, उपाधि होड कायम राखेको छ ।
यसैबीच स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको छ । कोरोना भाईरसको महामारीले स्थगित लिग सुचारुपछिको पहिलो खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बिल्बाओको मैदानमा एक गोलले पछि परेको स्थगित उल्टाएर एट्लेटिकोले बराबरी खेलेको हो । खेलको ३७ औं मिनेटमा इकर मुनियनले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३९ औं मिनेटमा डिएगो कोस्टाले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।
वि.सं.२०७७ असार १ सोमवार ०८:१३




















