चीनको गोन्जाओमा विश्वकै ठुलो फुटबल रंगशाला बन्दै
वि.सं.२०७७ वैशाख ६ शनिवार १२:४६
2.1K
shares
एजेन्सीः चीनको गोन्जाओमा विश्वकै सर्वाधिक ठुलो तथा धेरै दर्शक क्षमताको रंगशाला निर्माणको काम सुरु भएको छ । फुटबल क्लब गोन्जाओ एर्भगार्डले केही बर्षभित्र निर्माण सम्पन्न गर्ने योजनामा यो साताबाट रंगशाला निर्माण सुरु गरेको हो ।
केही महिना अघिबाटै सुरुगर्ने भनिएको रंगशालाको निर्माण कोरोनाको संक्रमणका कारण रोकिएको थियो । गोन्जाओ एभरगार्डले विश्वकै सर्वाधिक ठुलो रंगशालाको निर्माण आफ्नै घरेलु मैदानमा गरिरहेको छ । रंगशालामा १ लाख बढी सिट क्षमता रहने छ । निकै ठुलो आकारको हुने रंगशालामा १ सय ६० बढी भिआईपी बक्स राखिने छ ।
अमेरिकी डिजाइनर असन सयदको डिजाइनमा बन्ने रंगशाला निकै महंगो बजेटमा तयार हुनेछ । यसको अनुमानित बजेट नै १ दशमलव ३६ विलियन पाउण्ड रहेको छ । कोरोनाको संक्रमणका कारण निर्माण ढिला भएपछि अनुमानित लागत केही बढ्न सक्ने बताईएको छ ।
गत महिना भारतले गुजरातमा विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला निर्माण गरेको थियो । क्रिकेटको प्रयोजनका लागि तयार पारिएको सरदार पटेल रंगशालाको उद्घाटन भएको महिनादिन पछि नै चीनले फुटबलको प्रयोजनका लागि ठुलो रंगशाला निर्माण थालेको हो ।
वि.सं.२०७७ वैशाख ६ शनिवार १२:४६


















