पुन:निर्माणका बांकी काम सम्बन्धित मन्त्रालय, विभाग एवं निकायलाई
वि.सं.२०७८ भदौ १० बिहीवार ११:२१
1.9K
shares
काठमाडौं: पुन:निर्माणका बांकी काम सम्बन्धित मन्त्रालय, विभाग एवं निकायलाई हस्तान्तरण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्पादन हुँदै आएका पुन:निर्माणका बांकी काम सम्बन्धित मन्त्रालय, विभाग एवं निकायलाई हस्तान्तरण गरिने भएको हो ।
प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको २० औँ बैठकले निजी आवास लगायतका कामको हस्तान्तरण सुरु गर्ने निर्णय गरेको हो ।
निर्णयअनुसार निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ ।
विभागले सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र हाल केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(भवन) मार्फत सञ्चालित गुम्बाको पुनःनिर्माणको जिम्मेवारी पनि लिनेछ ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी काम एवं प्राधिकरणको संस्थागत स्मरणको व्यवस्थापन र पुनःनिर्माण तथा पुनःस्थापनामा बाँकी रहेका कामको कानूनी एवं नीतिगत व्यवस्था तथा समन्वय, सहजीकरण र अनुगमनसम्बन्धी काम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्नेछ । विद्यालय तथा विश्व विद्यालयका भवन पुनःनिर्माणका काम शिक्षा मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइबाट सम्पादन हुनेछन् ।
पुरातात्विक सम्पदा र निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बाको पुनःनिर्माण पुरातत्व विभागले गर्नेछ । सडक तथा पुल एवं सहरी विकास मन्त्रालय तथा पुरातत्व विभागले हेर्नेबाहेकका गुम्बाको पुनःनिर्माण गुम्बा व्यवस्थापन समितिको समन्वयमा स्थानीय पूर्वाधार विभागले गर्नेछ ।
पुनःनिर्माण प्राधिकरणको केन्द्रीय संरचनामा रहने सानो सङ्ख्याको जनशक्तिले धरहरा, रानीपोखरी, सिंहदरबार एवं नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा रहेको रणोद्दीप दरबारलगायतका संरचनाको पुनःनिर्माण तथा लेखा परीक्षण जस्ता काम गर्नेछ । हस्तान्तरण गर्ने कामको सहजीकरण, लेखा परीक्षण र अन्तर्राष्ट्रिय सम्मेलनका काम पनि सम्पादन गर्नेछ ।
यो पनी पढ्नुहोस् :
भेरोसेल खोपको दोस्रो मात्रा भदौ ११ गतेदेखि १३ गतेसम्म लगाइने
वि.सं.२०७८ भदौ १० बिहीवार ११:२१



















