प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, दल र जेन-जीका प्रतिनिधिसहितको त्रिपक्षीय बैठक बस्दै
वि.सं.२०८२ कात्तिक १२ बुधवार ०७:४५
1K
shares
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, दल र जेन-जीका विभिन्न समूहका प्रतिनिधिहरुसहितको त्रिपक्षीय बैठक बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ ।
गत भदौ २७ गते प्रधानमन्त्री बन्नु भएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक दल र जेन-जीका प्रतिनिधिलाई एकै ठाँउमा राखेर छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्री कार्की तिहार अगाडि दलका प्रतिनिधिहरूसँग छलफल गरेकी थिइन् । उक्त बैठकमा जेनजी प्रतिनिधिहरूलाई बोलाइएको थिएन ।
बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको समयमा निर्वाचन सफल पार्नका लागि सबै पक्षले आ-आफ्नो क्षेत्रबाट खेल्नुपर्ने भूमिका, परिवर्तित परिस्थितिमा जेनजीले उठाएका माग सम्बोधन लगायत विषयमा छलफल हुने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको हो । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफलको क्रम जारी रहेको जानकारी दिएका छन् ।
वि.सं.२०८२ कात्तिक १२ बुधवार ०७:४५




















