संसदीय समितिले बुझायो सभामुखलाई ‘कुलिङ अफ पिरियड’को प्रतिवेदन

वि.सं.२०८२ साउन २० मंगलवार १४:०५
987
shares
काठमाडौं: संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’मा गरिएको छेडखानीबारे छानबिनका लागि गठित संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक एवम् नेपाली कांग्रेसका सांसद जीवन परियारले उक्त प्रकरणमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, समिति सचिव सुरजकुमार दुरासहितलाई जिम्मेवार ठहर्याएको प्रतिवेदन मंगलबार सभामुखलाई बुझाएका हुन् ।
समितिले सभापति खतिवडालाई नैतिक रुपमा जिम्मेवार रहेको किटान गरेको छ । तर उता सभापति खतिवडाले आफू सुरूदेखि नै कुलिङ पिरियडको पक्षमा रहेको बताएका छन् । हिजो पनि र भोलि पनि आफू कुलिङ पिरियडको पक्षमा उभिने बताउँदै उनले छेडखानीमा नैतिक जिम्मेवारी लिने बताएका छन् । खतिवडाले भने- ‘कुलिङ पिरियड छेडखानीमा संसदीय समितिले नैतिक र राजनीतिक जिम्मेवार बनाएको छ । मैले मेरो तर्फबाट भएको कमजोरीको आज पनि जिम्मेवारी लिन्छु, भोलि पनि लिन्छु ।’ उनले थपे, ‘कुलिङ पिरियड समेटिएको निजामती सेवा विधेयकमा मैले नै हस्ताक्षर गरेर पठाएको हो । त्यसबारे जिम्मेवारी लिन्छु । तर जसले बदमासी गरेको हो, उसलाई कारबाही हुनुपर्छ भनेर म पहिले पनि बोलेको हो ।’ खतिवडाले संसदीय समितिको निर्णयप्रति आफ्नो असहमति नरहेको जनाएका छन् ।

वि.सं.२०८२ साउन २० मंगलवार १४:०५