१८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो ? ठूला दल मिल्दैमा तर्सिनु पर्दैन
वि.सं.२०८१ असार २८ शुक्रवार १४:१७
1.9K
shares
काठमाडौं: नेपाली कांग्रेसले संविधान संशोधनको कुरा उठाउनु कुनै गलत नभएको बताएको छ । प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको नाममा देशलाई द्वन्द्वतिर लैजान नखोज्नु भन्दै चेतावनी दिएपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफू संविधानको रक्षा गर्न प्रतिबद्ध रहेको बताए ।
उनले भने, ‘संविधान संशोधनको विषय उठाएर छलफल गर्नु पश्चगमन होइन । यो अग्रगमन हो । संविधान पूजा कोठामा राखेर पाठ गर्नको लागि बनाएको पुस्ततको रूपमा लियौं भने कमजोर हुनसक्छ ।’ उनले दुई ठूला पार्टी मिल्दैमा तर्सिएर आत्तिनुपर्ने अवस्था नरहेको बताए । स्थिर सरकार, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न एमाले कांग्रेस गठबन्धन बनेको लेखकले बताए । उनले सो सहमतिले मुलुकलाई ठिक ढङ्गले अगाडि लैजान सकिन्छ भन्ने व्यवहारिक र सैद्धान्तिक आधार रहेको बताए । १८ महिनामा प्रधानमन्त्रीले ६ पटक विश्वासको मत लिनु सरकार स्थिर हुनु हो त भन्दै प्रश्न गरे ।
आउँदा दिनमा एउटा प्रधानमन्त्रीले ३ महिनामा विश्वासको मत लिने अवस्था नहोस् भनेर सहमति भएको बताउँदै लेखकले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न कांग्रेस एमालेबिच गठबन्धन बनेको उल्लेख गरे । कानुन बमोजिम सुशासन कायम गर्न र विकासका काम गर्न सहमति भएको उनको भनाई थियो ।
वि.सं.२०८१ असार २८ शुक्रवार १४:१७




















