आज तिहारको तेस्रो दिन गाईको पूजा गरी गाईतिहार मनाईदै
वि.सं.२०८० कात्तिक २७ सोमवार ०८:५१
1.7K
shares
काठमाडौं: कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो ।
गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । औँसीका दिन बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने विधि भएपनि तिथिको घटबढका कारण यो वर्ष दुई दिन परेको छ । आइतबार अपराह्न नै औँसी तिथि लागेपछि साँझ लक्ष्मीपूजा गरिएको छ । सोमबार बिहान गाईको पूजा गरिँदैछ ।
पञ्चांग निर्णायक विकास समितिका अनुसार आइतबार १९ घडी ३७ पला अर्थात् दिउँसो २ बजेर १४ मिनेटमा औँसी लागेको हो। सोमबार २० घडी ४४ पला अर्थात् दिउँसो २ बजेर ४४ मिनेटसम्म औँसी रहने समितिले जनाएको छ । गत वर्ष पनि यस्तै परेको थियो। अघिल्लो दिन बेलुकी लक्ष्मीपूजा गरी भोलिपल्ट बिहान गाईपूजा गरिएको थियो ।
श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षासूत्र (डोरो) गाईतिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोकविश्वास छ । तिहारको चौथो दिन गोरुपूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।
वि.सं.२०८० कात्तिक २७ सोमवार ०८:५१



















