सभामुख पदमा देउवा-नेपाल सहकार्य, जसपा र जनमतलाई फकाउँदै
वि.सं.२०७९ माघ ४ बुधवार १६:४९
2.1K
shares
काठठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएका माधव नेपालले सभामुख पदका लागि कांग्रेससँग सहकार्य गर्ने भएको छ ।
बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटपछि अध्यक्ष नेपालले कांग्रेसको प्रस्तावलाई स्वीकार गरेका हुन् । सोही अनुसार कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतकसमेत रहेका प्रकाश ज्वालाले समर्थन जनाएका छन् ।
न्यौपानेले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको प्रस्तावक र ज्वालाको समर्थनमा सभामुख पदमा उम्मेदवारी दिएका छन् । सभामुख पदमा सहयोग गर्न देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि छलफल गरिरहेका छन् ।
सत्तारुढ दलसमेत रहेका जसपा र जनमतले भागबण्डामा असन्तुष्टि जनाएका छन् । भागबण्डामा मनपरी गरेको भन्दै जसपा सरकारमा सहभागी नै भएनन् भने जनमतले आफूले भनेको मन्त्रालय नपाएपछि समर्थन फिर्ता लिने तयारीमा छन् ।
आफूलाई प्रमुख प्रतिपक्षीकै रूपमा उभ्याउने घोषणा गरिरहेका देउवाले सत्ता साझेदार दलका असन्तुष्ट पक्षहरूलाई मिलाएर लैजाने नीति अपनाएका छन् । सोहीअनुरूप उनले माधव नेपालसहित नेताहरूसँग सम्बाद गरिरहेका छन् ।
यता नेपालले प्रधानमन्त्री प्रचण्डबाट सरकारमा सहभागी हुने वा नहुने विषयमा औपचारिकरूपमा केही प्रस्ताव नगरेको बताइरहेका छन् । प्रचण्ड ओली निकट बन्दै गर्दा नेपाल प्रचण्डसँग झन् सशंकित बनेका हुन् ।
मंगलबारको सर्वदलीय बैठकमा पनि ओली र नेपालबीच सवाल जवाफ भएको थियो । राष्ट्रपति, सभामुखलगायत पदहरूमा पहिल्यै सहमति भइसकेको र त्यसमै सबैको सहमति हुनुपर्ने ओलीको भनाइप्रति नेपालले कडा जवाफ फर्काएका थिए । नेपालले आफूहरूको काम तपाइँहरूले भन्दै गएको कुरा मान्ने हो र भन्दै प्रश्न गरेका थिए ।
वि.सं.२०७९ माघ ४ बुधवार १६:४९



















