उपसभामुख चयनका लागि आज मनोनयन दर्ता, भोलि निर्वाचन

वि.सं.२०७९ असार ३० बिहीवार ०९:३३
1.5K
shares
काठमाडौं: प्रतिनिधिसभामा आज २०७६ सालदेखि खाली रहेको उपसभामुख पदको चयनका लागि आज मनोनयन दर्ता गरिँदै छ ।
मनोनयन दर्तापछि शुक्रबार निर्वाचन हुँदैछ । त्यसअघि आज उपसभामुखका उम्मेदवारले उम्मेदवारी दिने भएका हुन् ।
बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।
जस अनुसार उपसभामुखको निर्वाचन प्रक्रिया बिहीबार बिहान ११ बजे सुरु गर्ने कार्यक्रम छ ।
उपसभामुख पदका लागि आगामी शुक्रबार दिउँसो ३ बजे निर्वाचन हुने विवरण संसद सचिवालयले जनाएको छ ।
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि प्रतिनिधि सभामा अढाई वर्षदेखि उपसभामुख पद खाली छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख बनेका थिए ।
संविधान अनुसार एउटै दलबाट सभामुख र उपसभामुख बन्न नपाइने भएपछि तुम्बाहाङ्फेले उपसभामुख पदबाट राजीनामा दिएकी थिइन् ।
एउटै दलबाट बनाउन नपाइने भएपछि अब बन्ने उपसभामुख माओवादी बाहेकका दलबाट चुनिने छन् ।

वि.सं.२०७९ असार ३० बिहीवार ०९:३३