सडक कालोपत्रे गर्न माग गर्दै थलीमा स्थानीयको प्रदर्शन
वि.सं.२०७६ जेठ २८ मंगलवार १५:१९
816
sharesकाठमाडौं: चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि स्थानीयवासी सडकमा उत्रिएका छन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भएपनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयवासीले आन्दोलन थालेका हुन् ।
सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । दैनिक आवतजावत गर्नुपर्ने हजारौँ सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीयवासीको गुनासो छ । अहिले सो स्थानमा स्थानीयवासीले कुनैपनि सवारीसाधन चल्न नदिई सडक अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।
सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।
वि.सं.२०७६ जेठ २८ मंगलवार १५:१९