आज पनि ठूलो हावाहुरीसहित चट्याङ्ग पर्ने सम्भावना, सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागको आग्रह
वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०८:५९
4.9K
shares
काठमाडौं: बिहीबार राति देशभरका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ ।
वागमती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो ।
आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । विभागका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना रहेको जनाएको छ ।
तर, पानी भने हल्का मात्रै पर्ने विभागले जनाएको छ । प्रि-मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।
गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना रहेको विभागको भनाई छ ।
तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ ।
चट्याङ्ग र ठूलो हावाहुरीको सम्भावना रहेकाले सुरक्षित रहन जल तथा मौसम विभागले आग्रह गरेका छन् ।
वि.सं.२०७८ वैशाख ३ शुक्रवार ०८:५९



















