चिनियाँ उपमन्त्री गुओ यझाउले भेटे राष्ट्रपति र प्रधानमन्त्रीलाई, आज प्रचण्ड-नेपालसँग भेट्ने
वि.सं.२०७७ पुस १३ सोमवार ०९:३३
1.6K
shares
काठमाडौं: चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यझाउ नेतृत्वको टोलीले आज नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्ने कार्यक्रम छ ।
दुवै नेताको सचिवालयका अनुसार चिनियाँ टोलीले आज भेट्ने भनेपनि समय भने यकिन भइसकेको छैन । नेकपालाई फेरि एक बनाउने सम्भावनाको खोजीमा आएको टोलीले हिजो दुतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको थियो भने राति प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता भएको थियो ।
यसअघि नेकपाको विवाद पटक–पटक उत्कर्षमा पुग्दा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता रहने गरेको थियो । प्रधानमन्त्रीले संसद विघटन गरिसकेपछि पनि राजदूत यान्छीले राष्ट्रपतिसहित नेकपाका चार नेतासँग भेटवार्ता गरेकी थिइन् ।
नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गरेका थिए । २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरका थिए र त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो ।
गुओ भ्रमणपछि सहमति भएर ०७५ जेठ ३ गते एकता घोषणा भएको थियो, त्यसैले गुओलाई एकताका सूत्रधार भनेर पनि विश्लेषण गर्ने गरिएको छ ।
वि.सं.२०७७ पुस १३ सोमवार ०९:३३




















