पौडेल समूहले विरोधपत्र दर्ता गर्दा सिटौला किन मौन ?
वि.सं.२०७७ असोज १२ सोमवार १०:४७
1.8K
shares
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्णयको विरोध गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज सोमबार पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने भएको छ ।
लामो समयदेखि पार्टीभित्र सभापति देउवाले मनोमानी ढंगले पार्टी संचालन गरेको भन्दै बिरोध गर्दैै आएको पौडेल समूहले हिजो आइतबार विरोधपत्र दर्ता गर्ने भनिएपनि समयअभावको कारण भन्दै हिजो विरोधपत्र दर्ता गर्न सकेको थिएन । हिजो गर्ने भनिएको विरोधपत्र दर्ता गर्ने कार्य पार्टीका अर्का प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले हस्ताक्षर नगरेकाले हुन नसकेको समाचार बाहिर आएको थियो ।
बिरोधपत्र दर्ता गर्ने विषयमा बरिष्ठ नेता पौडेल र सिटौलाबीच छलफल चले पनि त्यसले मूर्तरुप लिन नसकेकाले हिजो गर्ने भनिएको विरोधपत्र दर्ता गर्ने कायर्उ रोकिएको थियो । आज भने सिटौलाले हस्ताक्षर नगरेपनि विरोधपत्र दर्ता गर्ने कार्यक्रम रहेको पौडेल पक्षले जनाएको छ ।
उता पौडेल समूहले विरोधपत्र दर्ता गर्न लागे पनि सिटौल भने मौन देखिएका छन् । उनले हिजो आइतबार पौडेलले हस्ताक्षर गर्न आग्रह गरे पनि हस्ताक्षर गरेका थिएनन् । उनले उल्टै पौडेललाई तपाई नै हस्ताक्षर गर्नुहोस तपाईले गरेपनि हाम्रो समूहको नेतृत्व हुन्छ भन्दै हस्ताक्षर गर्नबाट पछि हटेका थिए ।
यसरी हस्ताक्षर गर्नबाट सिटौला पछि हटेपछि पौडेल समूहले मात्र विरोधपत्र दर्ता गर्न लागेको पौडेल समूहका एक नेताले अखबार नेपाललाई जानकारी दिए ।
पार्टी संचालनका क्रममा सभापति देउवाले गरेको एकलौटी निर्णयहरु सच्याउन आग्रह गर्दै पौडेल समूहले विरोधपत्र दर्ता गर्न लागेका हुन । पौडेल समूहका २७ नेताद्वार हस्ताक्षरित विरोधपत्र दिउँसो १ बजेपछि पार्टी कार्यालयमा दर्ता गरिने पौडेल समूहले जनाएको छ ।
पौडेल समूहले सभापति देउवाले क्रियाशील सदस्यता वितरण, विभाग गठन र विस्तारका काम विधान मिचेरै आफूखुसी गरेको भन्दै पछिल्लो समयमा गरिएका निर्णय सच्याउनुपर्ने माग गरेको थियो ।
गत शनिबार काठमाडौँको बसुन्धरामा सम्पन्न पौडेल समूहको भेलाले सभापति देउवलाई पछिल्ला निर्णय सच्याउन दबाबका लागि विरोधपत्र दर्ता गर्नुपर्ने निष्कर्ष निकालेको थियो भने त्यसैअनुरुप आज विरोधपत्र दर्ता गर्न लागेका हुन ।
वि.सं.२०७७ असोज १२ सोमवार १०:४७



















