नेपाली सेनाले ल्यायो चीनबाट १० कन्टेनर स्वास्थ्य सामग्री
वि.सं.२०७७ जेठ ४ आइतवार ०९:४१
1.6K
shares
काठमाडौं: कोरोना भाइरस महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौं भित्रिएको छ । चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै काठमाडौं आइपुगेका हुन् ।
ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ । सरकार–सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने डिस्पोजल गाउन लगायतका एक हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७ दशमलव ५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ । त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ । अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ। नेपालले चीनसँग कोभिड– १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक उपकरण, पिपिई लगायत ७३ प्रकारका सामग्री खरिद गर्ने सम्झौता गरेको थियो ।
खरिद गरिएका बाँकी सामग्री बोकेका केन्टेनर हाङ्गुबाट गत वैशाख २४, २६ र २८ गते नेपालतर्फ प्रस्थान गरिसकेका छन् । ती कन्टेनरलाई नेपाल आइपुग्न १० देखि १२ दिन लाग्नेछ । नेपाली सेनाले कोभिड–१९ को जोखिम न्यूनीकरण र रोकथामका लागि क्वारेन्टाइन र अस्पताल समेत निर्माण गरिरहेको छ ।
मुलुकको आवश्यकता र कोभिड– १९ ले निम्त्याएको सङ्क्रमण रोकथाम एवं नियन्त्रण गर्ने सन्दर्भमा सेनाले मास्क, सेनिटाइजर र पिपिइको उत्पादन समेत गर्दै आएको छ । सरकारले सम्भावित कोरोनाको सङ्क्रमण जोखिमको मूल्याङ्कन गरी समयमै ‘बन्दाबन्दी’ घोषणा गरेका कारण नेपालमा हालसम्म २९१ जनामा कोरोनाबाट सङ्क्रमित भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ जेठ ४ आइतवार ०९:४१




















