हरेक दिन ठूला उद्योगहरुमा बुधबारबाट घोषित लोडसेडिङ हुने
वि.सं.२०७९ वैशाख १४ बुधवार १८:११
काठमाडौं: बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने जनाएको छ ।
बिजुली माग अनुसार नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गर्ने सम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०/१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौं ।’
अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।
घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन । अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ ।
वि.सं.२०७९ वैशाख १४ बुधवार १८:११