पोखरा नछोड्न भन्दै डेलिगेशनमा आउँदै कास्की कांग्रेस नेताहरु
वि.सं.२०७८ चैत २९ मंगलवार १३:४९
3.2K
shares
काठमाडौं: चितवनको भरतपुर महानगरपालिका छोड्ने खबर फैलिएपछि शशंकित बनेका नेपाली कांग्रेस कास्कीका नेताहरु पोखरा महानगरपालिका नछोड्न दबाब दिन काठमाडौ उत्रिने भएका छन् ।
पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेशनका लागि काठमाडौं आउने भएका हुन् ।
पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने बताईएको छ ।
समाजवादीको पहिलो रोजाइ नै पोखरा हो । भूगोलको हिसाबले सबैभन्दा ठूलो पोखरा महानगरपालिका पर्यटनको राजधानी पनि मानिन्छ ।
अघिल्लो निर्वाचनमा १३ हजार ७ सय २ मतान्तरले एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए ।
अहिले पोखरामा ३९ हजार मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनमा कांग्रेसले प्रमुखमा ४६ हजार ४ सय १६ मत ल्याएको थियो ।
यसपटक पोखरामा ३९ हजार ६ सय ४५ मतदाता थपिएका छन् । नयाँ मतदातामा १५ हजार मतदाता आफ्नो रहेको दाबी कांग्रेसको छ ।
सोही कारण देखाउँदै गठबन्धनको सबैभन्दा ठूलो दलको हिसाबमा पोखरा कांग्रेसले छोड्न नहुने दबाब दिन कास्की कांग्रेस नेतृत्व काठमाडौं आएका हुन् ।
चितवनको भरपुर महानगर माओवादी केन्द्रले नछोडेको जस्तै पोखरामा समाजवादीले नछोड्ने स्थिति देखिएको छ ।
कांग्रेस पोखरा महानगर सचिव गणेश बहादुर थापाका अनुसार कांग्रेस कास्की सभापति किशोरदत्त बरालको समन्वयमा प्रदेश मन्त्री विन्दुकुमार थापासहित वरिष्ठ नेता, कास्की जिल्ला कार्यसमिति, क्षेत्रीय र प्रदेश सभापति, महानगर पदाधिकारी, कांग्रेसको तर्फबाट पोखरा महानगरका लागि मेयर तथा उपमेयरका आकांक्षीलगायत व्यक्तिहरु काठमाडौं आउँदैछन् ।
उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति, महामन्त्रीलगायत शीर्ष नेताहरुलाई भेटेर पोखरा महानगरपालिका कुनै हालतमा नछोड्न दबाब दिने कार्यक्रम रहेको छ ।
गठबन्धन गर्ने केन्द्रको निणर्यले कांग्रेसले नै नेतृत्व नपाउने हो कि भन्ने अन्योलताबीच सबै आकांक्षीसहितको टोली राजधानी जाने र दबाब दिने कार्यक्रम छ । यता एमालेले मंगलबार नै महानगरको उमेदवार सिफारिस गर्नेछ ।
वि.सं.२०७८ चैत २९ मंगलवार १३:४९




















