भारतमा नयाँ नागरिकता कानूनको विरोध हिंसात्मक बनेपछि असममा ६ जनाको मृत्यु
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:२३
1.3K
shares
एजेन्सी: भारतको उत्तरपुर्वी राज्य असमको गुवाहिटीमा नयाँ नागरिकता कानूनको विरोधमा भएको हिंसात्मक प्रदर्शनमा ६ जनाको मृत्यु भएको छ । प्रदर्शनमा प्रहरीको गोली लागि तथा आगजनी र कुटपिटमा ६ जनाको ज्यान गएको हो ।
पाँच दिनदेखि पश्चिम बंगाल, असम लगायत राज्यमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको जनाइएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रशासनले इन्टरनेट बन्द र कफ्र्यु समेत लगाएको छ । लोकसभा र राज्यसभाले नागरिकता संशोधन विधेयक अनुमोदन गरेलगत्तै असममा विरोध प्रदर्शन शुरु भएको थियो । उक्त विधेयकमा सन् २०१४ डिसेम्बर ३१ अघि देखि भारतमा बस्दै आएका छिमेकी मुलुक बंगलादेश, पाकिस्तान र अफगानिस्तानका अल्पसंख्यक गैर मुस्लिमलाई नागरिकता दिने प्रावधान रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले धर्मनिरपेक्ष संविधानको उल्लंघन गरी मुस्लिम बाहेकका अल्पसंख्यकलाई नागरिकता दिने प्रावधान सहितको विभेदकारी कानून ल्याएको भन्दै विरोध भएको हो । नयाँ कानूनले साम्प्रदायिक र शसस्त्र संघर्षको चपेटाबाट गुज्रिरहेको असममा तनाब थपेको विपक्षीको आरोप छ । यसैबीच गृहमन्त्री अमित शाहले छिमेकी बंगालदेशबाट आएका आप्रवासीका कारण उत्तरपुर्वी राज्यको स्थानिय संस्कृति, राजनीति, भाषा, राजनीतिक अधिकारलाई जोखिम नपार्ने भन्दै शान्त रहन अपिल गरेका छन् । तर विपक्षीले भारतका २० करोड मुस्लिम समूदायलाई उपेक्षित पार्ने गरी नयाँ कानून ल्याइएको आरोप लगाएका छन ।
वि.सं.२०७६ मंसिर ३० सोमवार ०७:२३




















