भारतमा आत्मघाती हमला गर्ने अलकायदाको चेतावनी !
वि.सं.२०७९ जेठ २५ बुधवार १७:३९
2.1K
shares
एजेन्सी : धार्मिक अतिवादी मुस्लिम समूह अलकायदाले भारतमा आत्मघाती हमला गर्ने कडा चेतावनी दिएको छ ।
समूहले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ताले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको हो ।
केही दिनअघि त्यहाँको एक टेलिभिजन च्यानलमा भएको बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् ।
मुस्लिम प्रतिद्वन्द्वीलाई हँसिमजाक गरेको कारण उनको विरोध हुँदै आएको थियो । पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदाले यस्तो धम्की दिएको हो ।
प्रवक्ता शर्माको उक्त टिप्पणीलाई लिएर मुस्लिम समुदायमा आक्रोश बढिरहेकै बेला भाजपाका अर्का नेता नवीनकुमार जिन्दलले पैगम्बरमाथि फेरी विवादास्पद ट्वीट गरेका थिए । उक्त ट्वीटको सर्वत्र निन्दा हुन थालेपछि उनले केही समयमै हटाएका हुन् ।
सोही विषयलाई लिएर जिन्दन पार्टीबाट निस्कासित हुनुपरेको थियो भने प्रवक्ता शर्मा निलम्बनमा परेकी छन् ।
अल–कायदाले जुन ६ मा लेखेको पत्रमा ’आफ्नो समुदाय र पैगम्बरको सम्मानको लागि लड्न आत्मघाती हमला गर्ने’ भनेको छ ।
अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिसोधको भावना भरिएको समेत पत्रमार्फत अल–कायदाले भनेको छ ।
वि.सं.२०७९ जेठ २५ बुधवार १७:३९



















