विश्वभर दादुराका बिरामीको संख्या तीन सय प्रतिशतले वृद्धि

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:२२
816
shares
एजेन्सी: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अघिल्लो वर्षको तुलनामा २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या तीन सय प्रतिशतले वृद्धि भएको जनाएको छ ।
दादुराको दुई वटा खोप लगाउँदा यस रोगलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ । तर खोपको दरमा कमी भएपछि दादुराका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लुएचओको भनाई छ । विश्वभरबाट सङ्कलित प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी तीन सय प्रतिशतले बढेको पाइएको डब्लुएचओले जनाएको छ ।
यस वर्ष विश्वका एक सय ७० देशबाट सङ्कलित तथ्याङ्कमा एक लाख १२ हजार एक सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष एक सय ६३ देशको तथ्याङ्कमा २८ हजार एक सय २४ जनामा दादुरा देखिएको थियो ।
हावाबाट सङ्क्रमण हुने दादुराबाट मानिसमा ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोकाहरु उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:२२