चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल, ६ महिनापछि नयाँ नेतृत्व
वि.सं.२०७७ जेठ २३ शुक्रवार ०९:५२
1.3K
shares
काठमाडौं: चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता, निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को विहीबारको बैठकले दाहाललाई नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापाको नाम सिफारिस गरेको थियो । गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो । भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए । १० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो ।

गत वर्षको मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएपछि खाली भएको उक्त पदका लागि मन्त्रालयले गत महिना आवेदन आह्वान गरेको थियो । ६ महिना पछि बोर्डले नेतृत्व पाएको हो । नवनियुक्त दाहाल बाहालवाला बोर्ड सदस्य हुन् । काभ्रेपलाञ्चोक स्थानी घर भएका दाहाल लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । स्पट व्वाइदेखि चलचित्र क्षेत्रमा प्रवेश गरेका दाहाल निर्देशक हुँदै बोर्ड सदस्यमा प्रवेश गरेका हुन् । चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था हो ।
वि.सं.२०७७ जेठ २३ शुक्रवार ०९:५२



















