नबिल बैंकले ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा कमायो
वि.सं.२०७९ साउन २१ शनिवार १४:१६
2.9K
shares
काठमाडौं: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले ४ अर्ब ९७ करोडभन्दा बढी खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा बैंकको खुद नाफा ९.८३ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष सो अवधिसम्म बैंकले ४ अर्ब ५२ करोडभन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको इम्पेरमेण्ट चार्ज करिब १५ प्रतिशत घटेको छ । अघिल्लो वर्ष ८२ करोड ७५ लाखभन्दा बढी रहेको इम्पेरमेण्ट चार्ज गत वर्ष ७० करोड ९६ लाखभन्दा बढी मात्र रहेको हो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको सञ्चालन नाफा १३.९८ प्रतिशत बढी ७ अर्ब ९ करोड भएको हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ९ अर्ब १२ करोडभन्दा बढी रहेको छ ।
गत वर्षको ३३.६ प्रतिशत बोनस शेयर वितरण गरेको नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ती गरेको छ । प्राप्तीपश्चात् बैंकको चुक्तापूँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार कायम भएको छ ।
जगेडा कोष रकम भने अघिल्लो वर्षभन्दा ६८.११ प्रतिशत बढी २६ अर्ब ३७ करोडभन्दा बढी छ । शेयर प्रिमियममा १ लाख ७६ हजार रहेको बैंकको रिटेन्ड अर्निग ३ अर्ब ३७ लाखभन्दा बढी छ ।
बैंकले अघिल्लो वर्षभन्दा गत वर्ष करिब ४६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ५२ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ३ खर्ब २६ अर्ब २२ करोडभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३ खर्ब १ अर्ब ७ करोडभन्दा बढी कर्जा प्रवाह गरेको हो ।
अघिल्लो वर्ष ०.८४ प्रतिशत रहेको नबिलको निष्क्रिय कर्जा गत वर्ष १.५४ प्रतिशत कायम भएको छ । प्रतिशेयर आम्दानी २६ दशमलव ८८ रहेको नबिलको प्रतिशेयर नेटव २३०.३७ रहेको छ ।
वि.सं.२०७९ साउन २१ शनिवार १४:१६




















