सेयर बजार परिसूचकमा नेप्से करिब ५० अंकले बढ्यो
वि.सं.२०७७ पुस १५ बुधवार १६:३१
1.6K
shares
काठमाडौं: साताको चौथो दिन आज सेयर बजार परिसूचक नेप्से करिब साढे २ प्रतिशतले वृद्धि हुँदा २०६० अंकबाट माथि लागेको छ ।
बजार खुलेसँगै उकालो लागेको नेप्से बीचमा केही करेक्सन हुन खोजे पनि बिक्री चापभन्दा खरिद चाप बढी हुँदा नेप्से बढेको छ ।
आज प्रि-ओपन सेसनमै बढेर २०२३ दशमलव ६० अंकमा खुलेको नेप्से ४९ दशमलव १७ अंकको वृद्धिसहित २०६२ दशमलव ०६ अंकमा बन्द भएको छ ।
नेप्सेसँगै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सूचक सेन्सिटिभ इन्डेक्स पनि बढेको छ । सेन्सिटिभ इन्डेक्स ८ दशमलव ८६ अंकले वृद्धि हुँदा ३९१ दशमलव ३० अंकमा बन्द भएको छ ।
मंगलबारको भन्दा आज कारोबार रकम पनि सामान्य बढेको छ ।
मंगलबार चार अर्ब नौ करोडको कारोबार भएको बजारमा आज ३९ हजार ९३५ वटा कारोबारमा २०८ कम्पनीको ९९ लाख १० हजार ००३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २३ हजारको कारोबार भएको छ ।
विकास होटेल र विकास बैंक बाहेक अन्य सबै समूहको सूचक सकारात्मक हुँदा बजारको नेतृत्व नेपाल दूरसञ्चार कम्पनी र नेपाल पुनर्बिमा कम्पनी र नागरिक लगानी कोष रहेको अन्य समूहले गरेको छ ।
व्यापार समूहको सूचक ९ दशमलव ४५ प्रतिशत, उत्पादन समूहको सूचक ६ दशमलव ८३ प्रतिशत र अन्य समूहको सूचक ४ दशमलव ६९ प्रतिशतले बढेको छ ।
यस्तै लघुवित्तको सूचक २ दशमलव ६६ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ सूचक पनि २ दशमलव ०१ प्रतिशतले बढेको छ ।
कारोबार रकममा भने शिवम् सिमेन्ट अगाडि देखिएको छ । कम्पनीको ३४ करोडमाथिको कारोबार हुँदा एनआईसी एशिया बैंकको ३२ करोडमाथि र हिमालयन डिस्टिलरीको करिब ३९ करोडको कारोबार भएको छ ।
बुधबार ६ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । पाँच कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा एक कम्पनीमा भने नकारात्मक सर्किट लागेको हो ।
हकप्रद सेयरको बुक क्लोजपछि मंगलबारको कारोबार सकारात्मक सर्किट लागेको नागरिक लगानी कोषमा आज पनि सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन, हिमालयन डिस्टिलरी र एभरेष्ट बैंकको अग्राधिकार सेयर र मल्टिपर्पस फाइनान्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।
यता नारायणी विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
र यो पनि…
पलिस्था कक्षपतीलाई मुवाँथाईको बर्ष खेलाडी सम्मान
कराते खेलाडी सुमन सागाको ब्रान्ड एम्बासडरमा नियुक्त
वि.सं.२०७७ पुस १५ बुधवार १६:३१




















