पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप
वि.सं.२०७७ असोज १३ मंगलवार १५:५२
1.5K
shares
काठमाण्डौ: नेपाल राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान गरिने पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद दुई साता थप गरेको छ ।
राष्ट्र बैंकले सोमबार सूचना प्रकाशित गर्दै पुनर्कर्जाका लागि आवेदन पेस गर्ने म्याद असोज ३० गतेसम्म पुर्याइएको जानकारी गराएको हो।
नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि २०७७ मा भएको व्यवस्था अनुसार एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन आह्वान गरिएको हो। पुनर्कर्जाका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले असोज १४ गतेसम्म आवेदन भनिएको थियो।
विभिन्न सरोकारवालाहरुबाट कोभिड–१९ को रोकथामका लागि विगतमा भएका लकडाउन, निषेधाज्ञाजस्ता कारणले समय बढाइदिन अनुरोध भई आएकोले उक्त आवेदन पेस गर्ने समय असोज ३० गतेसम्म पुर्याइएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुलाई केन्द्रीय बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, र ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा उपलब्ध गराउनेछ। यसरी उपलब्ध गराइने पुनर्कर्जाको ब्याजदर कम्तीमा ३ देखि बढीमा ५ प्रतिशत हुनेछ।
राष्ट्रबैंकका अनुसार यस्तो पुनर्कर्जा कोभिड १९ बाट अति प्रभावित, मध्य प्रभावित क्षेत्रका लागि उपलब्ध गराइनेछ।

वि.सं.२०७७ असोज १३ मंगलवार १५:५२




















