वैदेशिक रोजगारमा गएका युवालाई फर्काउन २० करोडको कोष बनाउने एनआरएनको प्रस्ताव
वि.सं.२०७७ वैशाख १६ मंगलवार १०:२८
1.3K
shares
काठमाडौं: वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र विद्यार्थीहरुको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघले नेपाल सरकारसँग २० करोड रुपैयाँको संयुक्त कोष स्थापनाको प्रस्ताव गरेको छ ।
उक्त संयुक्त कोषमा नेपाल सरकारका तर्फबाट बैदेशिक रोजगार कल्याणकारी कोष वा अन्य कोषबाट १५ करोड रुपैयाँ जम्मा गर्नुपर्ने र गैर आवासीय नेपाली संघका तर्फबाट ५ करोड रकम जम्मा गरी २० करोड रकम राख्नु पर्ने प्रस्ताव गरिएको छ ।
गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्रि केसीले नेपाल सरकारलाई आधिकारिक रुपमा पठाएको प्रस्तावमा ‘गैरआवासीय नेपाली संघ कोभिड १९ राहत तथा उद्धार कार्यक्रम २०२०’ संचालन गर्न सो रकम खर्च गरिने उल्लेख छ । उक्त कार्यक्रम गैरआवासीय नेपाली संघको माइग्रेण्ट वर्कर्स् एण्ड वेलफेयर अफ एनआरएनएस विभागको अन्तर्गत राखिएको छ ।
एनआरएनएको प्रस्ताव अनुसार, संसारभरका गैरआवासीय नेपाली संघ, अभियन्ताहरु, नेपाली दूतावासहरु, सरकारी नियोगहरु, परराष्ट मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गृह मन्त्रालय, अध्यागमन विभाग,नेपालसहितको समन्वयमा संचालन गरिनेछ ।
२० करोड रकम बराबरको सो कोषबाट पहिलो चरणमा तुरुन्तै खाडी मुलुकहर, मलेसिया तथा अफ्रिका र केही युरोपेली देशहरुमा बैदेशिक रोजगारीमा गएका नेपालीहरु र अप्ठेरोमा रहेका बिद्यार्थीका लागि खानपिनको व्यबस्था गर्ने र स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम प्रस्ताव गरिएको छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार १०:२८




















